काठमाडौं । आज बेलुकीदेखि देशका विभिन्न स्थानमा पानी र हिउँ पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिहान र दिउँसो सफा रहेको मौसम बेलुकीबाट बदली हुने शाखाले जनाएको छ ।
नेपाल प्रवेश गर्ने पश्चिमी निम्न चापीय प्रणालीको असरले बुधबार रातिदेखि विभिन्न ठाउँमा हिउँ र पानी पार्ने देखिएको महाशाखाको सूचनामा उल्लेख गरिएको छ ।
निम्न चापीय प्रणालीके प्रभावले बुधबार राति पश्चिमका थोरै ठाउँमा पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना छ । बुधबार राति पश्चिममा पानी र हिमपात पार्ने प्रणाली मध्य हुँदै पूर्व सर्ने भएकाले बिहीबार दिउँसो काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ ।
बिहीबार र शुक्रबार देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा वर्षा र हिमपात भए पनि शनिबार दिउँसोपछि भने मौसम खुल्दै शाखाको भनाई छ ।
मौसम बदली भएसँगै राम्रोसँग घाम नलाग्दा चिसो बढ्नेछ । यसैबीच बुधबार पूर्व र पश्चिमी पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।