काठमाडौँ । कर्मथलाे जापान बनाएका युवा सर्जक सुदर्शन सुवेदीले आफू सक्षम सर्जक रहेको प्रमाण पछिल्ला सिर्जनामार्फत दिइरहेका छन्। हालै सार्वजनिक भएको उनको नयाँ गीत ‘जुन तारा झिलिमिली’ले पनि उनी सिर्जनामा अब्बल सर्जक हुन् भन्ने पुष्टि गरेको छ।
करीब सात लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यस गीतको अडियो र भिडियो दुवै पक्ष उत्कृष्ट बनेका छन्। छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल यो गीतमा सुवेदीकै शब्द र संगीत रहेको छ। लोकदोहोरी शैलीको भए पनि गीतमा आधुनिक स्वाद मिसिएकोले विशेष गरी युवा पुस्ताले मन पराइरहेका छन्।
गीतमा चर्चित गायिका शान्ती श्री परियार र सुमन विटीको सशक्त स्वर रहेको छ भने भिडियो निर्देशन जेरी भण्डारीले गरेका छन्। भण्डारीको नेतृत्वमा निर्माण टोलीले भिडियोमा आकर्षक दृश्य संयोजन प्रस्तुत गरेको छ। सुरेश कोहली र रचना न्यौपानेले नृत्य प्रस्तुत गरेका छन्, जसले गीतको आकर्षण थप बढाएको छ।
गीतको संगीत संयोजन राजु विश्वकर्माले गरेका हुन्। ‘जुन तारा झिलिमिली’ सुदर्शन सुवेदीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसले क्रमशः लोकप्रियता बटुल्दै गएको छ।