Aafno Khabar

कोशी, बागमती, गण्डकीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • आफ्नो खबर
  • February 24, 2025 प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा अन्य प्रदेशका उच्च पहाडी क्षेत्रमा समेत एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।