काठमाडौं – भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शुक्रबार राति ठुलो दुर्घटना भएको छ। राति करिब २ बजे छत्तीसगढबाट महाकुम्भतर्फ जाँदै गरेका भक्तजनहरू बोकेको बोलेरो अनियन्त्रित भई अगाडिबाट आइरहेको बससँग ठोक्किएपछि दुर्घटना भएको हो।
यो दुर्घटना प्रयागराज-मिर्जापुर मुख्य सडकको मेजा प्रहरी चौकी क्षेत्र अन्तर्गत भएको हो। ठक्करपछि बोलेरो पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। घटनास्थलमै बोलेरोमा सवार १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा थिए, जो संगम स्नानका लागि महाकुम्भ मेलातर्फ जाँदै थिए।
उक्त बसमा रहेका १९ जना श्रद्धालुहरू भने संगम स्नान सकेर वाराणसी जाँदै थिए। उनीहरू मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा रहेको बताइएको छ। घाइतेहरूलाई रामनगरको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा उपचारका लागि भर्ना गरिएको छ।
दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। बोलेरो भित्र च्यापिएका शवहरू निकाल्न जेसीबीको सहायता लिइएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार बोलेरो चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।