Aafno Khabar

आफ्नो भोगाइलाई जिवन्त बनाउने हेमन्तको ‘एउटा छोरो’

  • आफ्नो खबर
  • February 10, 2025 प्रकाशित

काठमाडौं । पुरानो गीत ‘मुस्ताङ लेतेमा’देखि ‘एउटा छोरो’सम्म आइपुग्दा हेमन्त खड्काले गीतसंगीतलाई व्यवसायिक भन्दा पनि मौलिकता र सांगीतिक क्षेत्रलाई जिवन्त राख्नमा ठूलो लगानी गरेका छन्। उनले आगामी दिनमा पनि निरन्तर संगीत कर्मलाई अगाडि बढाउने तयारी गरेका छन्।

भर्खरै सार्वजनिक भएको हेमन्त खड्काको एकल गीत ‘एउटा छोरो’मा उनले आफ्नो मौलिकता जोगाउँदै नेपाली समाजमा हजारौँ युवा बुबा-आमालाई छोडेर विदेशिनु पर्ने बाध्यताको यथार्थ गीतमार्फत प्रस्तुत गरेका छन्। यो गीत केवल उनको मात्र नभई लाखौँ नेपालीको कथा रहेको खड्काको भनाइ छ।

“अहिले यस्ता मौलिक गीतको व्यवसायिक सफलता छैन, तर पनि आफ्नै जीवन भोगाइ र आफ्नो घर-आँगनलाई जिवन्त बनाउन हामीले गीत सिर्जना गरेका हौँ,” खड्काले भने। गीतमा समेटिएका सबै कलाकारहरूले मेहनत गरेको र आफ्नै जन्मघर बागलुङ तथा त्यस आसपासका क्षेत्रहरूमा छायांकन गरिएको उनले बताए।

खड्काले थपे, “अझ राम्रो कुरा के छ भने, यो गीतमा मैले आफ्नै आमा-बुबालाई देखाउने अवसर पाएको छु, जुन मेरो लागि अत्यन्त खुशीको कुरा हो।”

‘एउटा छोरो’ गीतमा खड्काको आफ्नै शब्द, लय र स्वर रहेको छ। कृष्ण केसीले संगीत संयोजन गरेको यस गीतको निर्देशन प्रेम थापाले गरेका छन्। सुनिल भण्डारीको छायांकन रहेको भिडियोमा सञ्चारकर्मी कृष्ण आचार्य, यशु भट्टराई, नरबहादुर खड्का, रत्नकला खड्का, दिप्लप खड्का र प्रतिमा क्षेत्रीको अभिनय छ। गीत हेमन्त खड्काको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।