Aafno Khabar

राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउछौँ : मन्त्री साउद

  • आफ्नो खबर
  • August 25, 2023 प्रकाशित

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने बताउनुभएको छ ।

बिहीबार काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री साउदले जारी रुस–युक्रेन द्वन्द्वको उदाहरण दिँदै उहाँले स्वतन्त्र देश भएपनि युक्रेनले छिमेकी रुसको सुरक्षा चासोलाई सम्बोधन गर्न नसकेका कारण द्वन्द्वको सिर्जना भएको उल्लेख गर्नुभयो ।

असंलग्न परराष्ट्र नीति भनेको कुनै सैन्य गठबन्धनमा सहभागि नहुने नीति रहेको भन्ने आफ्नो बुझाइ रहेको बताउँदै उहाँले यसलाई कूटनीतिक तटस्थताका रुपमा व्याख्या गर्न नहुने धारणा राख्नुभयो । कूटनीतिक रुपमा नेपाल युक्रेनमाथि रुसी हस्तक्षेपको विपक्षमा रहेको मन्त्री साउदको भनाइ छ ।

सबैलाई समान भाग लाग्नेगरी गणतीय हिसाबका आधारमा परराष्ट्र सम्बन्धको सन्तुलन नहुने भन्दै मन्त्री साउदले जुन मुलुकसँग आर्थिक र व्यापारिक सम्बन्धमा निकटता छ, सोही मुलुकसँगको सम्बन्धलाई प्राथमिकता दिइनुपर्ने धारणा राख्नुभयो ।

दुबै छिमेकी मुलुकहरुले तीव्र आर्थिक विकास गरिरहेको उल्लेख गर्दै उहाँले मुलुकको विकासमा दुबै छिमेकीको सहकार्य आवश्यक रहेको बताउनुभयो । भारतले पनि नेपाल–चीनबीचको स्वभाविक सम्बन्धलाई बुझेको र चीनले पनि नेपाल–भारतबीचको स्वभाविक सम्बन्धलाई बुझेको भन्दै उहाँले नेपाल द्विपक्षीय र बहुपक्षीय सम्बन्धको ढोकालाई खुला राख्न दृढ रहेको धारणा राख्नुभयो ।

उहाँले भारत र चीन दुबै छिमेकी मुलुकमा लामो समयदेखि स्थीर सरकार रहेको उल्लेख गर्दै नेपालमा राजनीतिक अस्थीरताको प्रभाव परराष्ट्र सम्बन्धमा पनि देखिएको उल्लेख गर्नुभयो । राष्ट्रिय एकतालाई बलियो बनाउन सबै राजनीतिक दलहरु एकैठाउँमा आउनुपर्ने र यसका लागि राजनीतिक दलहरुमा परिपक्वताको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय विश्वको भूराजनीतिमा परिवर्तन आइरहेको बताउँदै यसलाई विकाससँग जोड्नेगरी नेपालका बुद्धिजीविले बहस चलाउनुपर्ने उल्लेख गर्नुभयो । त्यसैगरी, कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री मिनेन्द्र रिजालले छिमेकी मुलुकहरु चीन र भारतले आर्थिक रुपमा प्रगति गर्दा त्यो नेपालका लागि ठूलो सम्भावना रहेको बताउनुभयो ।

छिमेकीको तुलनामा सानो देखिएपनि भूगोल र जनसङ्ख्याका आधारमा नेपाल विश्वका औसत देशभन्दा ठूलो रहेको भन्दै उहाँले अर्थतन्त्रमात्रै सानो रहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा आर्थिक विकासको प्रचुर सम्भावना रहेपनि देशको राजनीतिक नाशवान् दिशामा रहेकाले त्यसको सुधार आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्री रिजालले नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउन शासनव्यवस्था, कूटनीतिक सीप र क्षमतालाई थप सुधार गनुपर्नेमा जोड दिनुभयो । नेपाली राजनीतिमा सुधार आउँछ आउँदैन, त्यो हेर्न आफू उत्सुक रहेको उहाँको भनाइ छ ।

नेपाली राजनीति नाङ्गै हिँडेको कटाक्ष गर्दै नेता रिजालले परराष्ट्र नीतिले नाङ्गो राजनीति मन नपराउने र परराष्ट्र नीतिलाई सन्तुलित बनाउन पनि राजनीतिले लुगा लगाउनुपर्ने धारणा राख्नुभयो । चीन भ्रमणअघि अमेरिकाको भ्रमण गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई सकारात्मक र कूटनीतिक चातुर्यता रहेको उहाँको भनाइ छ ।

त्यसैगरी, कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध एवम् पर्यटन समितिका सदस्य उदयशमशेर जबराले तीव्र गतिमा आर्थिक विकास गरिरहेका चीन र भारतबीच रहेको नेपालमा पनि विकासको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

यद्यपि नेतृत्वले यसबारे चासो नदिएको उहाँको भनाइ छ । उहाँले छिमेकीहरुको चासोलाई पनि ध्यान दिँदै राष्ट्रिय हितअनुसार छिमेकीसँग व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँले सरकारमा र विपक्षमा हुँदा राजनीतिक दलको नीति र लाइन फरक फरक हुने गरेको भन्दै सरकारमा आउने पार्टीको नीतिका आधारमा मुलुकको परराष्ट्र नीति परिवर्तन हुन नहुने बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले नेपालमा लगानीको वातावरण बनाउन छिमेकी देशको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले कुनै देशका राजदूत पार्टीका नेताको घरघर जाने र कुनै देशका गुप्तचरले प्रधानमन्त्रीसँग रातभर भेट्ने गरेको उल्लेख गर्दै यस्ता गतिविधिबाट अफ्ठ्यारो पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले ठूला छिमेकीको बीचमा रहेको नेपालको विश्व मञ्चमा भने भूमिका कमजोर बनेको बताउनुभयो । नेपालले आफ्नो मजबुत पक्ष अझै खोज्न बाँकी रहेको भन्दै उहाँले सर्वप्रथम नेपालको राष्ट्रिय हितको स्पष्ट परिभाषा आवश्यक रहेको धारणा राख्नुभयो ।

विश्वमा शान्ति स्थापनाको क्षेत्रमा नेपालको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले यसलाई पनि विश्वमाझ प्रस्तुत गर्न सक्नुपर्ने बताउनुभयो । पछिल्लो समय प्रविधिको विकास, जलस्रोत, ऊर्जाजस्ता क्षेत्र पनि राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै सांसद खनालले यसबारे नेपालले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयमा विभिन्न विभाग हेर्न आवश्यक जनशक्तिको अभाव रहेको चर्चा गर्दै उहाँले परराष्ट्र सम्बन्धलाई थप सुदृढ गर्न संरचनगत क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।