Aafno Khabar
sanima bank

मेस्सीको कप्तानीमा इन्टर मायमीलाई लिग्स कपको ऐतिहासिक उपाधि

  • आफ्नो खबर
  • August 20, 2023 प्रकाशित

अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १ १ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए । यता मायमीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नाशभिलका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथमा लिनुपरेको थियो ।

त्यसपछि पनि अन्य सबै खेलाडीले लगातार गोल गरेपछि दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए । मायमीका क्यालेन्डरले गोल गर्दा पानिचोको प्रहार विपक्षी गोलरक्षकले चताए ।

त्यसअघि निर्धारित समयको अन्तिम प्रहारमा मायमी उपाधि जित्नबाट चुकेको थियो । जोसे काम्पनाले खाली पोस्टमा गरेको प्रहार पोस्टमा लागेर बाहिरीएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

खेलको २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए । तर नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए । सन् २०२० मा स्थापित इन्टर मायमीको यो क्लब इतिहासकै पहिलो उपाधि हो ।

अमेरिकी लिग मेजर लिग सकरमा संघर्ष गरिरहेको टोलीले लिग्स कपमा भने मेस्सीको आगमनपछि सानदार प्रदर्शन गर्यो । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए ।