काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा गत वर्ष भन्दा सुधार आएको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताउनुभयो । उहाँका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको हो ।
त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ ।
यो वर्ष २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि २ हजार ४६२ ले बढेको छ । गत वर्ष ६९ हजार ९०० ले २.८ देखि ३.२ जिपिए ल्याएकामा यस वर्ष ७२ हजार ३६२ रहेको छ ।
यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ । यो संख्या भने १ हजार ४२७ ले घटेको हो। अघिल्लो वर्ष ९० हजार ७५८ ले यो जिपिए ल्याएका थिए ।
यसवर्ष सबैभन्दा बढी २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी रहेका छन् । यो वर्ष १ लाख २ हजार २९३ ले २ देखि २.४ जिपिए ल्याएका छन् ।कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।
बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेका कारणले नतिजा सुधार आएको बोर्डले बताएको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए ।