Aafno Khabar

जग्गा पास गर्न मालपोत पुर्‍याएका राजू ६० लाख लिएर फरार….

  • आफ्नो खबर
  • २०८० असार १६ गते २०:४३ प्रकाशित

काठमाडौं । धरानका कृष्ण बहादुर लिम्बुले काठमाडौंको कीर्तिपुर मच्छेगाउँमा रहेको १ रोपनी जग्गा किन्नका लागि ७ लाख रुपैयाँको बैदा गरे ।  काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट बस्दै आएका राजु अधिकारीले आफू जग्गा ब्यवसायी भएको बताउँदै कृष्णलाई मच्छेगाउँको जग्गा देखाएका थिए ।

सम्झना के.सीको नाममा रहेको कित्ता नम्बर १७४ को जग्गा देखाएका राजुले आफूलाई जग्गा बेच्नका लागि सम्झनाले अख्तियारी (मञ्जुरीनामा) दिएकाले ढुक्क भएर जग्गा किन्न कृष्णलाई आश्वस्त पारे । सम्झनाको नाममा रहेको अन्य जग्गा पनि आफूले बेचबिखन गरिएको भन्दै राजुले कृष्णलाई सो जग्गाको लालपूर्जा तथा जग्गाधनीको नागरिकता प्रमाणपत्र प्रतिलिपि पनि देखाए ।

सबै कुरामा आश्वस्त पार्दै सरकारी कागजात देखाएपछि कृष्णले राजुलाई जग्गाको बैदा बापत ७ लाख रुपैयाँ दिए ।  बैदा कागज गर्न नपर्ने भन्दै राजुले उक्त चेकको साटोमा आफ्नो नेपाल बैंक लिमिटेडमा रहेको खाताकाे सोही रकम बराबरको चेक टोकन बैना स्वरुप कृष्णलाई दिए ।

प्रति आना ४ लाखमा बैना गरेको सो जग्गा पास गर्न राजुले कृष्णलाई बारम्बार ताकेता गर्न थाले । ठूलो रकम भएका कारण जोहो गर्न पर्ने भन्दै कृष्णले केही समय पर्खन भने र भूतपूर्व ब्रिटिश लाउरे उनी हङकङ गए ।

हङकङबाट फर्केपछि पास गर्ने भनेर गएका कृष्णलाई राजुले विभिन्न माध्यममार्फत सम्पर्क गरेर जग्गा छिटो पास गर्न दबाब दिन थाले । कृष्णले पनि उसको दबाब थेग्न नसकेरै छोराको नाममा जग्गा पास गर्नका लागि अनुमति दिए ।

२०७८ साल पुस १९ गते जग्गा पास गर्ने सम्पूर्ण कागजसहित राजुले मालपोत कार्यालय कलंकीमा कृष्णका छोरा अशेष लिम्बुलाई डाके । अशेष आफ्ना सम्पूर्ण कागजातसहित एन.आइ.सी एसिया बैंकको २४/२४ लाख रुपैयाँ बराबरको दुईवटा चेक बाकेर मालपोत कार्यालय गए ।

मालपोत कार्यालयमा राजुले नगरपालिकाबाट प्रमाणित सिफारिस गरेको कागज, जग्गा राजीनामा तथा लिखत पारित कागज, जग्गाधनी प्रमाणपत्र तथा आवश्यक सबै कागजको प्रतिलिपी अशेषलाई थमाए । सक्कल प्रमाणपत्र आफूले राखेका राजूले प्रतिलिपी कागज दिएर राजस्व तीर्न आग्रह गरे ।राजस्व शाखामा लाइन हुने र आफूले कर्मचारीलाई भनसुन गरेर छिटो राजस्व तिरिदिने भन्दै उनले अशेषबाट तीन लाख रुपैयाँ लिए ।

अशेषले पनि उनले मागे बमोजिम राजुलाई उक्त रकम दिए । मालपोत कार्यालय जानुअघि राजूले अशेषबाट बाटोका लागि भन्दै दुई लाख रुपैयाँ पनि लिएका थिए ।

राजस्व शाखाको कर्मचारीलाई राजस्व तीर्न सो पैसा दिएको र उसले केही बेरमा तिरिदिने भन्दै उनले अब अशेषले जग्गा पासका लागि ल्याएको रकम माग्न थाले । जग्गाधनी सम्झना आउने समयसम्म आफूले चेक साटेर तयार रहने बताएका उनले अशेषसँग भएका चेक मागे र  उनलाई  राजस्व तिरेको बिल लिन लाइनमा बस्न आग्रह गरे ।

सबै डकुमेन्ट तयार देखेका देखेका अशेष राजस्व तीर्न पनि सहजीकरण गरेको देखेपछि उनी प्रति थप विश्वस्त बने । अशेषले राजुलाई आफ्नो बैंक खाताको समान २४/२४ लाख रुपैयाँका चेक हस्तान्तरण गरे । राजुले चेक लिएपछि केही बेरमा साटेर आउने भन्दै त्यहाँबाट निस्के ।

सो चेक साटेर नल्याउने बेलासम्म राजुले विश्वासका लागि अशेषलाई फेरी आफ्नो नाममा रहेको हिमालयन बैंकको चेकमा हस्ताक्षर गरेर रकम नलेखी दिए । अशेषले दिएका दुईवटा चेक साट्न गएका राजु एकछिन भन्दा भन्दै कार्यालय समयभित्र मालपोत कार्यालय आएनन् । अनेकन् बहाना बनाएका उनले सो दिन जग्गाधनीले नभ्याएकाले अर्को दिन पास गर्ने भन्दै अशेषलाई घर जान आग्रह गरे ।

जग्गा पास गर्ने डकुमेन्ट हातमा लिएर राजस्व तिरेको बिलको आशामा बसेका अशेष भारी मन गर्दै घर फर्के । भोलिपल्ट राजुसँग सम्पर्क गरे । सो दिन पनि राजुले जग्गा पास गर्न नसकिने जवाफ दिए । ६० लाख रुपैयाँ हात पारेका राजुले लिम्बु परिवारलाई महिनौ आज भोली भन्दै थमाए । तर, ६ महिनापछि जग्गा पास गर्न नसकिने जवाफ दिए ।

लिम्बू परिवारले राजुसँग रकम फिर्ता माग्न थाल्यो । विभिन्न मितिमा आफ्नो नामको चेक दिएका राजुले सोही चेकको आड्मा लिम्बु परिवारलाई थम्थमाए ।

आफुले चाडै रकम फिर्ता गर्ने बताउन थाले । झण्डै डेढ वर्ष आज भोली भन्दै आएका राजु पछिल्लो समय सम्पर्क बिहीन भएका छन् । अर्काको जग्गा पास गरिदिने भन्दै ६० लाख रुपैयाँ बुझेका उनी सम्पर्कमा नआएपछि लिम्बू परिवार बेचैन भएको छ ।

जग्गा धनी सम्झना के.सीको सम्पर्कमा गएका लिम्बूलाई आफ्नो राजुसँग कारोबार नभएको बताएकी छन् । तर, राजुले सम्झनाको जग्गाधनी प्रमाणपत्र तथा नागरिकताको प्रलिलिपी देखाएरै वडा कार्यालय मार्फत विभिन्न कागजपत्र तयार पारेको देखिन्छ ।

वडा कार्यालयबाट बाटो प्रमाणित सिफारिस
राजीनामा पत्र
जग्गाधनी पुर्जाएको प्रतिलिपी
मालपोत कार्यालय कंलकीमा पास गर्नु पूर्व राजूले लिएको चेक

जग्गा पासका लागि तयार पारिएको कागज

 

सम्बन्धित शीर्षकहरु