Aafno Khabar
sanima bank

जलनपीडितको उपचारका लागि सुविधासम्पन्‍न अस्पताल र सहयोग चाहिन्छ : सांसद भण्डारी

  • आफ्नो खबर
  • May 24, 2023 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् ।

खाना पकाउने ग्याँसको जलेर घाइते भई भारत र नेपालमा उपचार गराएका सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभा बैठकमा बोलेका हुन् ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भण्डारीले दुर्गम क्षेत्रका र आर्थिक अवस्था कमजोर भएका जलन पीडितको पक्षमा सरकारले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका थिए । उनकी आमाको भने निधन भएको थियो ।

आफू शौभाग्यबस बाँचेर संसद्मा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि उनले बताए ।

यस वर्ष मात्रै जलनबाट १११ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै सांसद भण्डारीले जलनको विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए । साथै यस्ता विषयलाई सरकारले स्कुले पाठ्यक्रममा नै समेट्नुपर्ने उनको सुझाव थियो ।

सांसद भण्डारीले ग्यासको रेगुलेटर स्वचालित मात्रै प्रयोग गर्ने कानुनी व्यवस्था र कडाइका साथ कार्यान्वन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले स्वचालित रेगुलेटर प्रयोग गर्ने व्यवस्था गरेमा धेरैको ज्यान जोगिने बताए । जलनमा परेकाको उपचार दुर्गम र आर्थिक अवस्था कमजोर भएकाको झनै समस्यामा रहेको भण्डारीको भनाइ थियो ।