Aafno Khabar

शान्ति सुरक्षामा सरकार गम्भिर नभएको एमाले आरोप

  • आफ्नो खबर
  • २०८० बैशाख १४ गते १९:४६ प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षामा देखापरेको चुनौतिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

आज सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्ति सुरक्षामा देखापरेको चुनौतिका विषयमा एमालेले ध्यानाकर्षण गराएको हो ।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा समेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षामा प्रश्न उठाएको तर्क गर्नुभयो ।

नेता भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्या भएको ८ दिन बितिसक्दा समेत हत्यारा पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।