Aafno Khabar

कागेश्वरीको सातौं नगरसभा भोलि, यी हुन नगरभासमा पेश हुने विधेयक

  • आफ्नो खबर
  • २०७९ माघ ४ गते १७:४७ प्रकाशित

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सातौं नगरसभाको तयारी स्वरुप सरोकारवालासँग छलफल गरेको छ ।

माघ ५ गते हुने नगरसभाको तयारीका लागि आज राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला पक्षसाग छलफल गरिएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरसभामा नगर प्रहरी सम्बन्धी विधेयक, २०७९, नगरपालिका अस्पताल सञ्चालन तथा ब्यवस्थापन ऐन, २०७५ (पहिलो संसोधन विधेयक) प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

नगरसभामा आर्थिक ऐन, २०७९, श्रम डेस्क सञ्चालन कार्यविधि, सुशासन समिति सञ्चालन सम्बन्धी नियमावली प्रस्तुत गर्ने तयारी छ । सातौं नगरसभामा न्यायिक समितिका काम प्रभावकारी बनाउने सम्बन्धी विधेयक पनि पेश हुनेछ । विषयगत समितिको गठन तथा कार्य सञ्चालन नियमावली तथा विधायन समितिको नियमावली पनि नगरसभामा पेश हुनेछ ।

नगरसभाको पूर्वसन्ध्यामा राखिएको छलफल कार्यक्रममा कागेश्वरी मनोहरा भित्र क्रियाशिल राजनीतिक दल तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।

छलफलमा नगरपालिकाले ल्याउन लागेका विधेयक तथा नियमावलीले पार्ने दीर्घकालिन असर तथा त्यसको प्रभवकारी कार्यान्वयनका विषयमा सुझाव दिइएको थियो । सरोकारवालाको सुझाव पछि नगर प्रमुख कार्कीले सबैको सल्लाह अनुसार नै नगरसभाबाट विभिन्न कानुन तर्जुमा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सम्बन्धित शीर्षकहरु