काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।
जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ४ जनाले फरक मत राखेका हुन् ।