म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भइ गएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर हुन नदिएरै फिर्ता पठाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीलाई गाउँपालिकाले हाजिर हुन नदिएपछि फर्किएका हुन् ।
साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन समयमै पुगेका कार्कीलाई गाउँपालिकाले आफुहरुसँग समन्वय नगरिकन मन्त्रालयले सरुवा गरेर पठाएको भन्दै हाजिर हुन नदिएको कर्कीले बताएका छन् ।
पालिकाले हाजिर नगराएपछि फर्किएका कार्कीले यस सन्दर्भमा आफूले मन्त्रालयमा जानकारी गराउने बताए ।
गाउँपालिकाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको अन्यत्र सरुवा भएपछि मन्त्रालयले बागलुङको काठेखोला गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृत कार्कीलाई मङ्गला गाउँपालिकामा सरुवा गरेको थियो ।
यता, गाउँपालिकाले भने मन्त्रालयले अर्कै व्यक्तिलाई पठाउने बताएपनि कार्कीलाई पठाएकाले फिर्ता गरिएको प्रतिक्रिया दिएको छ ।
गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।