Aafno Khabar

स्थानीय आफै तम्सिए सडक मर्मतमा

  • आफ्नो खबर
  • June 25, 2022 प्रकाशित

लमजुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आँफै खटिएका हुन् ।

वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्वन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि स्थानीय आफै मर्मतमा जुटेका हुन् ।

मध्यपहाडी लोकमार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु भएको सडक सफाई अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पुरै वाटो अवरुद्ध भएको थियो ।

तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने वनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटौ थुप्रिएर वसेको थियो । सडकखण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाईलाई निरन्तरता दिने समाजिक अभियान्ता ओलियाले वताए ।

राइनास नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा अन्य सडक मार्गमा एक वर्ष अगाडिदेखि गएको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सवारी आवागमनमा समस्या झेल्नुपरेको थियो ।

यसवर्ष पुन निरन्तर वर्षाले पहिरो खस्ने तथा सडकमा लेदो थुप्रिएकाले सवारी सञ्चालनमा समस्या हुन थालेपछि सडक सफाईमा जुटेको अभियान्ता ओलियाले बताए ।

सम्बन्धित शीर्षकहरु