काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन्। उनले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरू गर्न खोजेको भन्दै त्यसमा मूलभूत रूपमा गठबन्धन सफल भएको बताए ।
यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको उनको भनाई छ ।
मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए। उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको उल्लेख गरे।
मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौती दिन सकिने उनको धारणा थियो। उनले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौती रहेकातर्फ सचेत पनि गराए।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदन सुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे।
उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी उत्तरा नेपालले आठ हजार ९८३ मत प्राप्त गरे।
कूल नौ वडा रहेको सो नगरपालिकामा ४१ हजार ८४२ मतदाता थिए। कूल १७ मतदान केन्द्र रहेको मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धतासमेत जनाए।