Aafno Khabar

कोरोनाको तेस्रो लहर नियन्त्रणमा, नयाँ भेरिअन्ट देखिन सक्ने सम्भावना कायमै

  • आफ्नो खबर
  • २०७८ फाल्गुन १ गते २१:४० प्रकाशित

काठमाडौं । नेपालमा पुस अन्तिम सातबाट सुरु भएको कोरोनाको तेस्रो लहर नियन्त्रणमा आएको छ । संक्रमणदर र मृत्युदर घट्दै गएकाले तेस्रो लहर अन्त्य हुने क्रममा पुगेको विज्ञहरुलेबर्ताका छन् । संक्रमणपछि स्वास्थ्यमा समस्या भएकाहरूको संख्या पनि घटदै गएको छ । पछिल्लो समय सक्रमणपछि भर्ना हुनेको संख्या पनि न्यून देखिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाका ५२१ जनामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको संक्रमण दर करिब ७ प्रतिशत रहेको छ । परीक्षणको ७० प्रतिशतसम्म कोरोना संक्रमित देखिएको तेस्रो लहरमा १० प्रतिशत भन्दा पनि कम संक्रमित देखिनु नियन्त्रणको चरणमा आएको मान्न सकिने विज्ञहरु बताउँछन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ भने तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७, ललितपुरमा ४४, मोरङमा ४०, कास्कीमा ३६, झापामा २३, सुनसरीमा १३ र रुपन्देहीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण दर घट्दै गर्दा विद्यालय र सिनेमा घर साथै अन्य व्यापारिक क्षेत्रहरू खुल्न थालेका छन । संक्रमण दर घट्दो भए पनि संक्रमणको जोखिम र त्यसले पार्ने असरहरू कायम रहने भन्दै स्वास्थ्य मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको छ ।

नयाँ भेरिअन्ट देखिन सक्ने सम्भावना कायमै रहने भएकाले सावधानी र स्वास्थ्य मापदण्ड अनिवार्य रहेको विज्ञको भनाइ छ ।