Aafno Khabar

काठमाडौं आउँदै हुनुहुन्छ भने यी स्थानमा लगाइदै छ कोरोना खोप

  • आफ्नो खबर
  • २०७८ मंसिर ७ गते २०:३६ प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्कमा आगामी एक महिनासम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा यी क्षेत्रहरुमा मंसिर ५ गतेबाट खोप कार्यक्रम सुरु गरेको हो । पुस ५ गतेसम्म चल्ने कार्यक्रमअन्तर्गत काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई खोप दिइने छ ।

स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले चारवटै खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड, एस्ट्राजेनिका खोप उपलब्ध लगाइने बताउनुभयो ।

यस्तै महानगरका ३२ वटै वडाका यसअघि तोकिएका खोप केन्द्रमा मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप दिइँदै छ ।

१८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकालाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।