Aafno Khabar

आइतबारअघि वर्षा रोकिने सम्भावना कम छ : माैसमविद्

  • आफ्नो खबर
  • २०७८ भाद्र २२ गते ०७:५४ प्रकाशित

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । देशभर ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश-२ बाहेक सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

मौसविद्का अनुसार आइतबार अघिसम्म वर्षा रोकिने सम्भावना कम छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

केही दिनदेखिको झरीले गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।