काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेस बलियाे हुने दाबी गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए । सूर्यविनायक नगरपालिका–५ एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । देउवाले बस्नेतकै क्षेत्रमा पुगेर कांग्रेसलाई हराएर देखाउन चुनौतीसमेत दिए ।
केही समय अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएका थिए । यही अभिव्यक्तिकाे जवाफमा देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए ।
देउवाले भने ‘बस्नेतजीले मलाई हराउनु पर्दैन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई मात्रै हराए हुन्छ ।’
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार ५६ जिल्लामा वडातहको अधिवेशन सुरु भएकाे छ । देउवाले पार्टीको १४औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न सबैसमक्ष आह्वानसमेत गरेका छन् । उनले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको पनि बताए ।