Aafno Khabar

निर्वाचन आयोगविरूद्ध एमालेले बुधबार मुद्दा दर्ता गर्ने

  • आफ्नो खबर
  • September 1, 2021 प्रकाशित

काठमाडाैं । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने निर्णय गरेकाे छ । एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले बुधबार अपरान्ह मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको हाे । एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।

तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते बुधबार नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप मुद्दा दर्ता गर्ने तयारी गरिरहेकाे हाे ।