Aafno Khabar

विस्तारै गले ओली, १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति

  • आफ्नो खबर
  • August 23, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

ओलीको निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको छ । माधव नेपालकाे नेकपा एकीकृत समाजवादीमा नगएका तर यसअघि माधव नेपाललाई साथ दिएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुसँग १० बुँदे सहमतिको कार्यान्वन गर्ने सहमति भएकाे हाे ।

उनीहरुले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे कार्यान्वयन गर्न साेमबारसम्मकाे अल्टिमेटम दिएका थिए । सहमति अनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ । याे प्रस्ताव मंगलबार स्थायी कमिटीमा पेश हुनेछ ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गर्न मध्यमार्गी धारका नेताहरू भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई उपस्थित भएका थिए । छलफलका बीचमा प्रदीप ज्ञवाली पनि थपिएका थिए ।