काठमाडाैं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता गर्ने निर्णय गरेकाे छ । माधव कुमार नेपालले नयाँ समाजवादी दल निर्वाचन आयाेगमा दर्ता गरेपछि माओवादीकाे स्थायी कमिटी बैठकले उक्त निर्णय गरेकाे हाे ।
पेरिस डाँडामा शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गरी अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएकाे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘कम्युनिष्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’
बैठकले केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे छलफल पनि गरेको थियो । ‘बैठकबाट जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ,’श्रेष्ठले भने, ‘सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काम भएका छन् ।’
उनले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको पनि जानकारी दिए ।
‘राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली र निर्देशिका तयार पारेको छ,’ श्रेष्ठले भने, ‘त्यसलाई छिट्टै तल पठाउँछौँ र त्यही आधारमा अधिवेशन हुनेछ ।’