Aafno Khabar

बामदेव गाैतम नेकपा एमालेमै

  • आफ्नो खबर
  • August 22, 2021 प्रकाशित

काठमाडाैं । वामदेव गौतम नेकपा एमालेमै रहेकाे उनको सचिवालयले बताएकाे छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनकाे सचिवालयले आइतबार बिहान उनी एमालेमै रहेकाे स्पष्ट पारेकाे हाे ।

गौतमको सचिवालयले पत्रपत्रिका तथा सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ भनेर प्रचार गरेको भनी आपत्ति पनि जनाएको छ । गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरालाई उनको सचिवालयले प्रष्ट पारेको छ ।

गाैतमकाे स्वकीय सचिव दीपक टमाटाले सामाजिक सञ्जालमार्फत गाैतम एमालेका रहेकाे बताएका हुन् ।

सामाजिक सञ्जालमा टमाटाले लेखेका छन्, ‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन, गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीकाे विराेधमा देखिएका गाैतमले यसअघि माधव नेपालकाे पार्टीमा आफ्नाे समर्थन रहने बताएका थिए । यद्यपी उनी माधव नेपालकाे पार्टीमा गइनसकेकाे सचिवालयले स्पष्ट पारेकाे हाे ।