Aafno Khabar

नयाँ दल दर्ताको अन्तिम तयारीमा माधव समूह, शीतल निवासकाे प्रतीक्षा

  • आफ्नो खबर
  • August 18, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको छ ।

नयाँ दल दर्ता तयारीका लागि बुधबार बिहान नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको छ । छलफलमा नयाँ दल दर्ता गर्न एकमत भइसकेको स्रोतले जानकारी दिएकाे छ ।

सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि एमालेको माधव नेपाल समूह नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो । उनीहरु शीतल निवासकाे निर्णयकाे प्रतीक्षामा रहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि वरिष्ठ नेता नेपाल समूह नयाँ दल दर्ताको तयारी जुटेको हो । ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ ।

ओलीले पेलेर जाने संकेत गरेपछि नेता नेपाल समूह नयाँ दल दर्ताको तयारीमा लागेका हुन् । विगतका निर्णयहरू ओलीले मंगलबारसम्म नसच्याए फुटको औपचारिक प्रक्रिया सुरु हुने नेपाल समूहले मंगलबार प्रष्ट पारेको थियो ।

नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको बताइएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । यद्यपी अहिलेसम्म अध्यादेश भने आइसकेकाे छैन ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेपछि विरोध हुन थालेको छ । लोकतान्त्रिक भनिएको देउवा सरकारलाई ओली सरकारसँग तुलना गरी प्रतिगमनकै संज्ञा दिन थालिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित गठबन्धनभित्रका कतिपयले अध्यादेशको आलोचना गरिरहेका छन् भने प्रधानमन्त्री देउवामाथि अध्यादेश  फिर्ताको दबाब पनि बढेको छ ।