Aafno Khabar

ओली गए तर पनि प्रवृत्ति कायम छ : बाबुराम भट्टराई

  • आफ्नो खबर
  • August 18, 2021 प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले ओली गए पनि ओलीप्रवृत्ति कायम रहेकाे बताएका छन् । उनले यस्तो हुनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको
पनि बताएका छन् ।

संसद अधिवेशन अन्त्य गरेपछि अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको भट्टराईले बताएका छन् । उनले भनेका छन् ‘ओली गए पनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो । जसले गरे पनि संसदअधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो ।’

सरकार बाहिर रहेका बेलामा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे चर्काे आलाेचना गरे पनि उनकाे पदचाप पछ्याएर आफूले पनि अध्यादेश ल्याउन खोजेकाे बेलामा भट्टराईले यस किसिमकाे अभिव्यक्ति दिएका हुन् ।

सत्तारुढ गठबन्धन भित्रै रहेको भट्टराईले गलतलाई गलत भन्दा विरोध गरेको नसोच्न पनि आग्रह गरेका छन् । उनले भनेका छन् ‘सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस् ।’

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियाे । उक्त अध्यादेश यतिबेला राष्ट्रपति कार्यालयमा अड्किरहेकाे छ ।