काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्दा कडा विरोध गरेका नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो सरकारले पनि सोही पदचाप पछ्याएकाे बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालगायत विभिन्न माध्यमबाट उनी केही नबोलेको भन्दै सर्वत्र आलोचना भएपछि थापाले बल्ल सामाजिक सञ्जालमार्फत नै धारणा सार्वजननिक गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु जसले जहिले गरे पनि गलत भएको बताएका छन् । उनले भनेका छन् ‘संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’
उनले विगतमा ओली सरकारले अध्यादेश जारी गर्दा गलत भन्नेहरुले आज सोही कदमलाई समर्थन गर्न नहुने पनि धारणा व्यक्त गरेका छन् । उनले आज यही कदम सही भन्नेहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि बताएका छन् । उनले भनेका छन् ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेकाे थियाे । उक्त निर्णयकाे विराेधमा एमाले समर्थकहरुले चर्को नाराबाजी गरेका थिए ।
यसअघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीकाे बाटाेमा नै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हिँडेकाे भनी उनकाे पनि कडा आलाेचना भइरहेकाे छ ।