Aafno Khabar

‘देउवालाई परमादेशकाे प्रधानमन्त्री भनेर हेप्नेलाई नागरिकले माफी दिन्नन्’

  • आफ्नो खबर
  • August 16, 2021 प्रकाशित

काठमाडाैं । सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी दिएका छन् ।

सांसद यादवले एमालेप्रति सङ्केत गर्दै संसदबाट बहुमत सावित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई नागरिकले माफी नदिने उनले बताएका हुन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आउँदाे चुनावपछि पनि पाँच वर्ष सरकार चलाउने गरी नागरिकले म्यान्डेट दिने दाबी गरे ।

उनले भने ‘संसदमा बहुमत साबित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्ने ? त्यस्तालाई जनताले माफी दिने छैनन् । अब यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन, आउँदाे चुनावपछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ । यो हाम्रो दाबी हो ।’

सांसद यादवले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत काम गरेर पनि वर्तमान सरकारलाई परमादेशको सरकार भनेर हास्यास्पद तर्क गरिरहेको उनकाे भनाइ थियाे । यादवले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल हवाई उद्धार गर्न पनि उनले सरकारलाई सचेत गराए ।