Aafno Khabar

होटलमा लुकाएको कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

  • आफ्नो खबर
  • July 31, 2021 प्रकाशित

काठमाडाैं । झापाको बिर्तामोडस्थित एक होटलमा २२० डोज भेरोसेल खोपसहित स्वास्थ्य शाखा बिर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोडको टाइमलेस होटलबाट खड्कालाई शुक्रबार अपराह्न ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इलाका प्रहरी कार्यालयमा राखिएको र कानून बमोजिम थप कारवाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले खोप बिर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा बिर्तामोडका फोकल पर्सन खड्काले आफू आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दाबी गरे ।

बिर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयले खोपमा अनियमितताको आशंका गरेका छन् । तर स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालय लगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको बिर्तामोड नगरपालिकाले स्वीकार गरेको छ । याे खबर आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।