Aafno Khabar

यस्तो छ हरिशयनी एकादशीकाे पूजाविधि र व्रतकथा

  • आफ्नो खबर
  • २०७८ साउन ५ गते ११:११ प्रकाशित

काठमाडाैं । आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिन्छ ।

एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा याे एकादशीका दिनमा तुलसीकाे मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने प्रचलन छ ।

हरिशयनी एकादशी व्रतविधि

एकादशीको दिन बिहानै उठेर घरको सरसफाई तथा नित्य कर्म गरी स्नान गरी पवित्र जल घरमा छर्कने । त्यसपछि घरको पूजा स्थल वा पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको मूर्ति स्थापना गर्ने ।

मूर्ती सुन, चाँदी, तामा अथवा पितलको हुनु पर्दछ । अन्यथा तस्बिर राखेर पनि पूजा गर्न सकिन्छ । भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गरिसकेपछि व्रत कथा सुन्ने गर्नुपर्दछ । कथा सुनिसकेपछि आरती गरेर विष्णुलाई सेतो खोलले ढाकेको ओच्छ्यान बनाई शयन गराउनु पर्दछ ।

हरिशयनी एकादशीको व्रतकथा

एक पटक देवऋषि नारदजीले ब्रह्माजीसँग यस एकादशीका विषयमा जान्ने उत्सुकता प्रकट गरे, ब्रह्माजीले उनलाई बताए – सत्य युगमा मान्धाता नामक एक चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा निकै सुखी थिए । भविष्यमा के हुन्छ, यो कसैलाई थाह थिएन । अतः उनी पनि यस कुराबाट अनभिज्ञ थिए कि उनको राज्यमा शीघ्र भयंकर अकाल पर्ने छ । उनको राज्यमा पूरै तीन वर्षसम्म वर्षा नभएका कारण भयंकर अनिकाल पर्‍यो ।

अनिकालका कारण चारैतर्फ हा–हाकार मच्चियो । धर्म पक्षको यज्ञ, हवन, पिण्डदान, कथा–व्रत आदिमा कमी भयो । समस्या परेको समयमा धार्मिक कार्यमा प्राणीको रुचि कहाँ रहन्छ ? प्रजाले राजासँग गएर आफ्ना वेदनाहरू भने । राजा त यस स्थितिलाई लिएर पहिले देखि नै दुःखी थिए । उनी सोच्न लागे कि आखिर मैले यस्तो कुन पाप कर्म गरेँ छु, जसको दण्ड मलाई यस रूपमा मिलीरहेको छ ? फेरी यस कष्टबाट मुक्ति पाउने कुनै साधना गर्ने उद्देश्यले राजा सेनालाई लिएर जंगल तर्फ गए ।

त्यहाँ विचरण गर्दा–गर्दै एक दिन उनी ब्रह्माजीका पुत्र अंगिरा ऋषिको आश्रममा पुगे । उनलाई साष्टांग प्रणाम गरे र ऋषिवरले आशीर्वचनोपरांत कुशल गाथ सोधे । फेरि जंगलमा विचरण र आफ्नो आश्रममा आउनाको प्रयोजन जान्न चाहे ।

तब राजाले हात जोडेर भने– महात्मन् ! सबै प्रकारले धर्मको पालन गर्दा गर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य देखिरहेको छु । आखिर कुन कारणले यस्तो भइरहेको छ, कृपया यसको समाधान गर्नुस् । यो सुनेर महर्षि अंगिराले भने– हे राजन ! सब युगहरू भन्दा उत्तम यही सत्य युग हो । यसमा सानो पापको पनि निकै भयंकर दण्ड मिल्दछ । यसमा धर्म आफ्ना चार चरणहरूमा व्याप्त रहन्छ ब्राह्मणका अतिरिक्त कुनै अन्य जातिलाई तप गर्ने अधिकार छैन । तपाईंको राज्यमा एक शूद्र तपस्या गरिरहेको छ । यही कारण भएर तपाईँको राज्यमा वर्षा भइरहेको छैन । जबसम्म त्यो काललाई प्राप्त हुन्न, तबसम्म यो दुर्भिक्ष शान्त हुनेछैन । दुर्भिक्षको शान्ति उसलाई मारेर नै सम्भव छ ।

किन्तु यति वचन सुनी राजाको हृदय एक नरपराध शुद्र तपस्वीको शमन गर्नलाई तयार भएन । उनले भने– हे देव म उस निरपराधलाई मारी दिउँ, यो कुरा मेरो मन स्वीकार गरिरहेको छैन । कृपा गरेर तपाईँ कुनै अरु उपाय बताउनुहोस् । महर्षि अंगिराले भने– आषाढ महिनाको शुक्ल पक्षको एकादशीको व्रत गर्नु । यस व्रतका प्रभावले अवश्य नै वर्षा हुनेछ । त्यसपछि राजा आफ्नो राज्यको राजधानी फर्कि आए र चारै वर्णहरू सहित हरिशयनी एकादशीको विधिपूर्वक व्रत गरे व्रतका प्रभावले उनको राज्यमा मूसलधार वर्षा भयो र पूरा राज्य धन–धान्यले परिपूर्ण भयो ।

एक वर्षमा २४ एकादशी पर्दछन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।