Aafno Khabar

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त जिल्ला घोषणा

  • आफ्नो खबर
  • २०७८ साउन ४ गते १९:०३ प्रकाशित

काठमाडाैं । बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक र मनाङलाई सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्मका लागि सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्रा ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

अहिलेसम्म बाढी र पहिरोबाट सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ भने २० जना सम्पर्कविहीन रहेका छन् । बाढी र पहिरोले ३३८ घर पूर्णरुपमा क्षति भएका छन् ।

मनाङमा बाढी र पहिरोले ५९ घर पूर्णरुपमा र २० घरमा आंशिक क्षति पुगेको छ । बाढीले विद्युतगृह, सडकलगायत थुप्रै भौतिक संरचना बगाएको छ ।

दुवै जिल्लामा सरकारले विशेष राहत उपलब्ध गराउने भएको छ । बाढी र पहिरोबाट हुनेसक्ने क्षतिलाई ध्यानमा राखेर उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता कार्कीले जानकारी दिए ।