Aafno Khabar

२ घण्टा ढिलाे गरी देउवाले लिए पद तथा गोपनीयताको शपथ

  • आफ्नो खबर
  • July 13, 2021 प्रकाशित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बेलुकी ६ बजे भनिएकाे सपथ साढे २ घण्टा ढिलाे गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ गराइएकाे हाे ।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा उल्लेख गर्ने विषयमा छलफल गरी शपथ गराइएकाे हाे ।

त्यसअघि प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिको भाषा सच्याउन देउवाले माग गरेका थिए । उनले विज्ञप्ति नसच्याएसम्ममा प्रधानमन्त्रीमा शपथ नलिने पनि बताएका थिए ।

राष्ट्रपतिले जारी गरेकाे विज्ञप्तिमा संविधानकाे धारा नै उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्ति गरिएकाे थियाे । राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।

आफू नेपाली कांग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकीर थियाे । प्रधानमन्त्रीकाे सपथ ढिलाे भएपछि राष्ट्रपति कार्यालयमा निम्त्याइएका विदेशी कूटनीतिज्ञ, संवैधानिक अंगका प्रमुखहरु लगायतका पाहुनाहरू अन्योलमा परेका थिए ।