काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता गगन थापाले ‘पूर्वप्रधानमन्त्रीको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?’ भनी प्रश्न गरेका छन् ।
थापाले उच्च ओहदामा बसेकाहरूलाई विदेशमा उपचार गराउँदा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएको पनि बताएका छन् ।
एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतस्थित एपोलो अस्पतालमा लागेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो । थापाले त्यसप्रति लक्षित गरी उक्त प्रश्न गरेका हुन् ।
शनिबार बिहान ट्विट्मार्फत् थापाले यो प्रचलन गलत छ भनेर रोक्ने प्रयास गरेको पनि उल्लेख गरेका छन् । थापाले ट्विटरमा लेखेका छन्,’प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन ।’
उनले कानुन नबनेसम्म यस्तो काम बन्द नहुने भनेर सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा आफूले संशोधन प्रस्ताव राखेको पनि उल्लेख गरेका छन् । उक्त संशोधन स्वीकार गरी बनेको कानुन लागू भइसकेको उल्लेख गरी थापाले त्यसमा कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबा विदेशमा उपचार गरेको खर्च तिर्न नमिल्ने व्यवस्था गरेको बताएका छन् ।
‘कानुनले स्पष्ट भन्छ, जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन,’ थापाले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै प्रश्न सोधेका छन्, ‘अब भन्नुस् पूर्वप्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?