काठमाडाैं । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीकाे चर्काे आलाेचना गरेकाे छ ।
विपक्षी गठबन्धनका नेताहरूसहित संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा शनिबार विपक्षी गठबान्धनका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेकै माधव नेपाललगायतका नेताहरुले ओलीकाे आलाेचना गरेका हुन् ।
संसद्मा केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि देउवा ओलीविरोधी विपक्षी गठबन्धनद्वारा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । तर राष्ट्रपति भण्डारीले दाबीमा प्रमाण नपुगेको निर्णय गरेकी थिइन् ।
संसद् विघटन र संविधानको धारा ७६(५) अन्तर्गत प्रधानमन्त्री नियुक्तिका विषयमा संवैधानिक इजलासमा दर्ता भएका ३० रिट निवेदनमाथि अन्तिम सुनुवाइ भइरहेको छ । यही बीचमा विपक्षी गठबन्धनले अदालतले संसद पुनर्स्थापना गर्ने र देउवा प्रधानमन्त्री बन्ने दाबी गरिरहेकाे छ ।
शेरबहादुर देउवाले के भने ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीले राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाए । संविधानको अन्तिम व्याख्या अदालतले मात्र गर्न सक्ने भएकाले उसले संविधानको व्याख्या मात्र नभई रक्षा गर्ने विश्वास लागेको नेता देउवाले बताए ।
प्रधानमन्त्रीको दाबीसहित आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाए पनि हस्ताक्षर सनाखत नगरेर राष्ट्रपतिले गल्ती गरेको उनको भनाइ छ ।
प्रचण्डले के भने ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताए । उनले ओलीलाई प्रजातान्त्रिक छलफल पटक्कै मन नपराउने व्यक्ति भएकाे आराेप लगाए ।
दलीय सांसदको स्वतन्त्र अधिकारका सम्बन्धमा अदालतको व्याख्या आउन बाँकी रहेका बेला उनले थपे, “७६ (५) मा संसद् विघटन हुनभन्दा सबै सांसद मिलेर प्रधानमन्त्री बनाउन् भन्ने मान्यता हो ।”
प्रचण्डले ओलीले कहिले महान्यायाधिवक्तामार्फत त कहिले आफैँ अदालतलाई दबाव दिएको आरोप पनि लगाए ।
उनले राजाले बनाएकाे आयाेग त अदालतले खारेकाे गरकाे स्मरण गरी राष्ट्रपतिकाे बारेमा बाेल्न पाइन्न भन्नु गलत भएकाे बताए । उनले भने, ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु इज केपी ओली ?’
उनले आफूले राजा चाहियो भनेर नभनेको पनि बताए ।
केही दिन अघि सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले भनेका थिए, ‘अहिले राष्ट्रपति भन्ने संस्था त यति, यो भन्दा त राजाहरु हुँदा थियो नि एउटा शान । अहिले त शान पनि छैन । मान पनि छैन । इज्जत नि छैन ।’
प्रचण्डको यो अभिव्यक्तिलाई ‘राजा चाहिएको’ भनिएको भन्दै आलोचना भएका थिए । विशेषगरी ओलीपक्षका नेताहरुले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।
माधवकुमार नेपालले के भने ?
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको लडाइँ केपी ओली व्यक्तिको नभई केपी ओली प्रवृत्तिविरुद्ध भएको बताए । उनले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको पनि बताए ।
उनले भने “तर यस प्रक्रियामा हस्ताक्षर फिर्ता लिने र विपक्षी गठबन्धनलाई धोका दिने कुनै सम्भावना छैन ।”