काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार सम्पादकहरुको छलफलमा अध्यक्ष दाहालले राज्यका संयन्त्रहरू कमजोर भएको बताएका छन् ।
उनले संवैधानिक निकायहरू यति कमजोर भएको आफूले यसअघि कहिल्यै नदेखेको बताए । अहिलेको राष्ट्रपतिमा भन्दा पहिलेका राजाहरुमा नै शान रहेको प्रचण्डले भनेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा मात्र चलेको आरोप लगाउँदै अध्यक्ष दाहालले राष्ट्रपति संस्थाको ओज घटेको उनले बताए ।
‘अहिलेको राष्ट्रपतिमा भन्दा राजाहरुमा त बरु शान थियो, अहिले शान पनि छैन, मान पनि छैन । इज्जत पनि छैन । हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि । अहिले राष्ट्रपति केवल प्रधानमन्त्रीको रबरस्ट्याण्ड मात्रै भए ।’ प्रचण्डले भने, ‘सबै नेताहरु उस्तै उस्तै हुन् भन्ने लाग्ला त्यस्तो होइन, केपी ओली देशका लागि भिलेन हो भन्ने जनताले थाहापाइसके ।’
उनले ०४६ साल र ०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गरी अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्याएकाले आन्दोलन सफल हुने विश्वास व्यक्त गरे ।
उनले भने ‘सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडि गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफुहरुको कुनै सेटिङ नभएको बताए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफुले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरु सेटिङ गरेर शासन गर्नेवाला नभएको पनि स्पष्ट पारे ।