काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुकाे जिम्मेवार हेरफेर गरेका छन् । ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका हुन् ।
यसरी जिम्मेवार हेरफेर गर्दा एकै मन्त्रीकाे भागमा पाँचवटासम्म मन्त्रालयकाे जिम्मेवारी परेकाे छ ।
उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् ।
भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको थप जिम्मेवारी दिएका छन् ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
केपी शर्मा ओली नेतृत्वमा यसअघि निर्माण भएकाे २ जना उपप्रधानमन्त्रीसहित, १५ जना मन्त्री तथा तीन जना राज्यमन्त्रीको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि उनीहरूले सम्हाल्दै आएको मन्त्रालय मौजुदा मन्त्रीहरूलाई थप गरेका हुन् ।