काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुङ्गा, गिट्टी निकासीका नाममा नीतिगत भ्रष्टाचार गर्न थालेको टिप्पणी गरेका छन् ।
संसद् नभएको बेला सरकारले ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर आफ्नो असली अनुहार र ‘घटिया सोच’ उजागर गरेको थापाको टिप्पणी छ । यसले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रष्ट भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले लेखेका छन्, ‘यो ‘नीतिगत भ्रष्टाचार हो । आफ्ना ‘यार’ पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ ।’
थापाले चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको स्मरण गरेका छन् । ‘यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ’, थापाले लेखेका छन् ।
अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारी नदेखेकाे जस्ताे गरी सरकारले जस्केलाबाट जनविरोधी कार्यक्रम ल्याएको थापाको आरोप पनि लगाएका छन् ।