Aafno Khabar

सुकेटार विमानस्थलको नाम रवीन्द्र राख्दा योगेशको बुझेन चित्त

  • आफ्नो खबर
  • May 30, 2021 प्रकाशित

काठमाडाैं । सरकारले सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राखेकाेमा पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा राखिने घोषणा गरेका थिए ।

नाम परिवर्तन गरिएपछि भट्टराईले कुनै पनि विशेषताबाट चिनिएकाे ठाउँकाे परिचय बदल्नुभन्दा अघि सबै तहमा ब्यापक छलफल गरिनुपर्ने पनि बताएका छन् । यसरीमात्र सहभागीतामुलक लाेकतन्त्र बलियाे हुने उनकाे तर्क रहेकाे छ ।

नामाकरणबारे योगेशले असल काम असल नियत भएमात्र राम्रो हुने पनि धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘एतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्दछ । यसरीमात्र सहभागीतामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाबमात्र झेल्नु पर्दछ ।’

उनकाे याे अभिव्यक्तिबाट सुकेटार विमास्थलकाे नाम रवीन्द्र अधिकारीसँग जाेड्नु सान्दर्भिक छैन । उनी सरकारकाे याे निर्णयप्रति असन्तुष्ट छन् ।