Aafno Khabar

मदन–आश्रित स्मृति दिवस : दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन नेता नेपालको आग्रह

  • आफ्नो खबर
  • May 17, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औँ स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गरी घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका हुन् ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जीप दुर्घटनामा मदन–आश्रितकाे निधन भएकाे थियाे ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटना अझ रहस्यमय छ । घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’ नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउ सके मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ ।