काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेकाे छ ।
मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस रहनेछ ।’
उनले याे बाहेक अन्य बिकल्प भएकाे र अन्तिमसमयसम्म कांग्रेसले सरकार बनाउने सम्भावना भएकाे दाबी गरे । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन बिहीबारसम्म दलहरूका लागि समय दिएकी छन् ।
यदी कांग्रेसले सरकार बनाउन नसकेकाे अवस्थामा पुन: केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार बन्ने सम्भावना पनि रहेकाे छ ।