काठमाडाैं । यतिबेला नेकपा एमाले विभाजनकाे डिलमा पुगेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा विश्वासकाे मत लिने भएपछि माधव–झलनाथ समूह सामूहिक राजीनामाकाे तयारीमा छन् ।
आइतबार मध्यान्हसम्ममा यसबारे निर्णय लिने खनाल–नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । वर्तमान राजनीतिक परिस्थितिकाे समीक्षा गरी नेताहरुले निर्णय लिने उनकाे भनाइ छ ।
वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसद पदबाट राजीनामा दिने उक्त समूहको तयारी छ । शनिबार भएको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने खनाल–नेपाल पक्षले निष्कर्ष निकालेको थियाे ।
साविकको नेकपामा पदीय व्यवस्थापन हुन नसकेर शुरू भएको विवाद पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि झन् कठीन अवस्थामा पुगेको थियो । त्यसपछिका २ महिनासम्म प्रचण्डसहितको गुटमा ओलीविरूद्ध संघर्ष गरेका खनाल-नेपाल समूह फागुन २३ मा एमाले र माओवादी केन्द्र व्यूँताएपछि एमालेमा पनि संघर्षरत छन् ।यतिबेला दुवै गुटका नेताहरुले आराेप प्रत्याराेप र गाली गलाैजसमेत गरेका थिए ।
साविक नेकपा हुँदा आफूविरूद्ध लागेको समूहलाई किनारा लगाएर प्रधानमन्त्री ओलीले फागुन २७ मा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीसहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरी खनाल-नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि एमाले विभाजनको संघारमा उत्रिएकाे हाे ।
अहिले पनि फागुन २७ को निर्णय सच्चिनु पर्ने खनाल-नेपाल समूहको अडान छ । तर उक्त निर्णय सच्याउन नसकिने ओलीकाे अडान छ ।
पछिल्लाे समयमा २७ गते ओलीले विश्वासकाे मत लिने भएपछि उनले विश्वासकाे मत लिनका लागि नेता नेपालसँग पनि वार्ता गरेका थिए भने उनले विपक्षी नेताहरुसँग पनि वार्ता गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि ओलीलाई समर्थन नगर्ने जनाइसकेका छन् । यस्तै, माओवादी केन्द्रले पनि ओलीलाई दिएकाे समर्थन फिर्ता लिइसकेकाे जनाएकाे छ ।
नेकपा एमालेमा बसेर ओली पक्षसँग संघर्ष गरिररहेकाे खनाल–नेपाल पक्षले अब सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने दिन अघि नै यो पक्षले राजीनामा गर्छ या के गर्छ त्यो भने हेर्न भने बाँकी छ ।