काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि लुम्बिनी प्रदेशमा एमालेको बहुमत गुमेको छ । दाङको क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।
सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसँगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ । माओवादी केन्द्रले वलीले माओवादी केन्द्र रोजेपछि वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको बताएको छ ।
वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ ।
लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए ।