Aafno Khabar

शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

  • आफ्नो खबर
  • २०७८ बैशाख १९ गते ११:५४ प्रकाशित

काठमाडाैं । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा एक सदस्यले जानकारी दिए ।

पोखरेलले आइतबार नै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको बताइएकाे छ ।

यसरी बन्नेछन् पाेखरेल एकल बहुमतको मुख्यमन्त्री

प्रदेशसभामा अहिले कायम रहेका ८१ सांसदमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् । वैशाख ६ गते सरकारमा सामेल जसपाका ४ जना मन्त्रीलाई संसद पदबाट हटाइएपछि अहिले जसपाका २ सांसद मात्र रहेका छन् । यसैगरी माओवादीले पनि आफ्ना दुई सांसदलाई कारवाही गरेको छ ।

हाल लुम्बिनी प्रदेशमा सांसदको संख्या ८१ कायम छ। यसमा एमालेको ४१ यथावत रहेकोले मुख्यमन्त्रीमा पोखरेल नै रहनेछन् । पोखरेलले तत्काल विश्वासको मत पनि लिनुनपर्ने देखिन्छ ।

पोखरेल संसदीय दलको नेता कायम भएकाे अवस्थामा एमालेको संसदीय दलको सिफारिसमा उनी तत्काल पुन मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रदेश मन्त्रिपरिषद् सम्बन्धी संविधानको धारा १६८ को १ मा भनिएको छ, ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ।’