Aafno Khabar

झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट पछि हट्याे नगरपालिका

  • आफ्नो खबर
  • २०७८ बैशाख ९ गते २०:१४ प्रकाशित

बागलुङ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ ।

नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने यात्रुबाट २० रुपैयाँ असुल्न थालेको थियो । तर जनस्तरबाट व्यापक विरोध भएपछि शुल्क लिने निर्णय फिर्ता भएको नगरपालिकाले जनाएको छ । चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउ÷जाउ गर्ने यात्रुबाट २० रुपैयाा लिने निर्णय गरेको थियो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई १० रुपैयाँ तथा विदेशी पर्यटकलाई ५० रुपैयाँ तोकिएको थियो । सर्वसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा यो निर्णयको विरोध भएको थियो ।

बागलुङ नगरपालिक–१ बाङ्गेचौर र कुश्मा नगरपालिका–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनिएको छ ।