Aafno Khabar

‘मेरो कित्ता’ मा कसरी लिने सेवा ? (भिडियाेसहित)

  • आफ्नो खबर
  • २०७८ बैशाख ३ गते ०८:१४ प्रकाशित

काठमाडौं । नापी विभागले आफ्ना कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुलाई डिजिटलाइज गर्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभागले तयार गरेको अनलाइन सेवा प्रणाली ‘मेरो कित्ता’ बिहीबार उद्घाटन गरे ।

यो प्रणाली प्रयोग गरेर सेवाग्राहीले इन्टरनेटमार्फत् नक्सा प्रिन्ट, प्लट रजिस्टर प्रिन्ट, फिल्डबुक प्रिन्ट पाउनुका साथै फिल्ड रेखाङ्कनको निवेदन दिन सक्ने विभागले जनाएको छ ।

कित्ताबाट सेवा लिन सम्बन्धित सेवाग्राहीले आफ्नो जग्गाधनी प्रमाणपुर्जा र नागरिकता अपलोड गर्नुपर्छ । जसका लागि मेरो कित्ताको वेबसाइटमा विवरण भर्न मिल्ने प्रणाली विकास गरिएको विभागले जनाएको छ ।

विभागले तत्काललाई यो सेवा काठमाडौं उपत्यकाका तीनवटा नापी कार्यलयमा मात्रै सुरु गरेको छ । विभागले नापी कार्यालय कलंकी, डिल्लीबजार र भक्तपुरबाट अनलाइन सेवा प्रणाली मेरो कित्ता सुरुवात गरेको छ ।

कसरी लिने सेवा ?

साधारण प्रयोगकर्ताहरुले सेवा प्राप्त गर्न तोकिएको ढाँचामा अनलाइन निवेदन पेश गर्नुपर्छ । निवेदन पेश भए पश्चात मोबाइलमा ओटीपी कोड आउँछ। सेवाको अवधिभर सो कोड आवश्यक हुने विभागले जनाएको छ ।

कार्यालयहरुबाट सेवाको विवरण जाँच भएपछि तिर्नुपर्ने राजश्व रकम एसएमएसबाट रजिस्टर गरिएको मोबाइलमा प्राप्त हुनेछ । सेवाग्राहीले राजस्व तिर्न मेरो कित्ताको आधिकारिक वेबसाइटमा गएर मोबाइल नम्बर र ओटीपी प्रयोग गरी प्रणालीमा जोडिएका विद्युतीय माध्यम वा भौचर प्रिन्ट गरी सम्बन्धित बैंकबाट दाखिला गर्न सक्ने विभागले जनाएको छ ।

भुक्तानी प्राप्त भएपछि सम्बन्धित नापी कार्यालयहरुले नक्साको डिजिटल कपी अपलोड गरी सेवाग्राहीको मोबाइलमा एसएमएस पठाउने बताइएको छ ।

उक्त नक्सा प्राप्त गर्न सेवाग्राहीले पुन: मोबाइल नम्बर र ओटीपी प्रयोग गरी प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरुले उक्त नक्सा एक हप्ता भित्र डाउनलोड गर्नुपर्ने जनाएको छ ।

विभागले संस्थागत सेवाग्राहीलाई पनि मेरो कित्ता प्रणालीबाट सेवा दिने जनाएको छ । जसका लागि मेरो कित्ताको वेबसाइटमा विभागले संस्थागत सेवाग्राहीहरुलाई छुट्टै लगइन गर्ने व्यवस्था गरेको छ ।