काठमाडाैं । बागमती प्रदेश र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ । एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध राखेको अविश्वास प्रस्ताव फिर्ता लिने भएका छन् ।
बुधबार बसेको एमाले प्रदेश १ र बागमती प्रदेशको संसदीय दल बैठकले पनि एक हप्तामा अविश्वासको प्रस्ताव फिर्ता लिन आफ्ना सांसदलाई निर्देशन दिएको थियो । एमाले माधव पक्षको प्रदेश १ र वागमती प्रदेशका सांसदहरुको संयुक्त बैठकले दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्धका अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको जनाइएको छ । पुस १० गते वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
सोहि क्रममा अविश्वास प्रस्ताव दर्तामा सहभागी प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा समेत दिएका थिए । वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् । प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । राईविरुद्ध ३३ जना सांसदले अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई विघटन गरेपछि दुबै पार्टी पुर्ववत् अवस्थामा फर्किएका छन् । जसले गर्दा त्यतिबेला एउटै पार्टी नेकपाभित्र रहेका माओवादी र एमालेको नेपाल पक्ष मिलेर बनेको समूह अहिले पूर्ववत् पार्टीमा बाँडिएका छन् । यसैबीच मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि बैठक बस्नै नसकेको प्रदेश १ र बागमती प्रदेशले अब गति लिने आश गरिएको छ ।