काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि अस्तव्यस्त बनेको राजनीतिलाई निकास दिन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सुझाव आएको छ ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र महन्थ ठाकुर हुने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने र सरकारको नेतृत्व लिन लोभ देखायो भने कांग्रेस पनि पुरै नाङ्गिने उनको भविष्यवाणी छ ।
संविधानले तत्काल चुनावमा जान नभनेको पनि उल्लेख गर्दै उनले भने, ‘अहिले मुलुकलाई एकदमै असल प्रधानमन्त्री चाहिएको छ। ठूलो प्रोगाम चलाउनु छैन। स्थिरता विश्वासका साथ लग्नुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार निरन्तरता चाहने हो भने विश्वासको मत लिनुपर्ने अवस्था आएकाे र विश्वासको मत लिन ओली असफल भए अर्को सरकार बनाउन प्रयास गर्नुपर्नेमा जोड दिए ।