काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।
आइतबार नेकपा(क्रान्तिकारी माओवादी)ले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा महासचिव वैद्यले नेपालमा क्रान्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।
क्रान्तिकारीहरु संसदवादी मुलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने पनि जानकारी सहित उनले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीकाे अभिव्यक्तिकाे प्रतिउत्तरमा उनले भने,‘प्रधानमन्त्रीले अब सब संसदवादी मुलधारमा आए भन्नुभो । सरासर झुठ हो । संसदवादी मुलधारमा छैनन् यि क्रान्तिकारीहरु । हामी छैनौँ । यो व्यवस्थालाई मान्दैनौँ ।’
उनले क्रान्ति बिसाएपछिमात्र शान्ति आउने र अहिले नै क्रान्ति नसकिएकाे जानकारीसमेत गराए ।