Aafno Khabar

चीनमा कसरी हुन्छ कृत्रिम वर्षा र हिमपात ?

  • आफ्नो खबर
  • २०७७ फाल्गुन ७ गते प्रकाशित

एजेन्सी । चीनको बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ।त्यो कुनै संयोग होइन।

चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम वर्षौँदेखि सञ्चालन गरिरहेका छन्। यो वर्षको डिसेम्बरमा सरकारले उक्त कार्यक्रमलाई देशभरि विस्तार गर्ने निर्णय गरेको छ।

अधिकारीहरूले कृत्रिम वर्षा वा हिमपात गर्ने कार्यक्रमले सन् २०२५ भित्र ५५ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लक्ष्य लिएका छन् जुन चीनको भूगोलको झन्डै ६० प्रतिशत हो।तर पहिलेदेखिकै क्षेत्रीय तनावका माझ छिमेकी भारतसहितका देशहरूले उक्त प्रविधिको प्रभावको अनिश्चितताबारे चिन्ता प्रकट गरेका छन्।

चीनले कसरी मौसमलाई नियन्त्रणमा गर्न खोजेको छ ?

चीनले क्लाउड सीडिङ भनिने विधिलाई प्रयोग गरिरहेको छ। यसमा सिल्भर आयोडाइड नामक यौगिकलाई बादलमा छर्केर वर्षा गराउने प्रयास गरिन्छ। यो नै मौसम परिवर्तन गराउने विधि हो।

“धेरै देशहरूले यो विधि प्रयोग गरिरहेका छन्। चीनले यसलाई लामो समयदेखि प्रयोगमा ल्याएको छ। भारतले पनि यसको प्रयोग गरेको छ, “ कर्णाटकस्थित मणिपाल अक्याडमी अफ हाइअर एजुकेशनकी जलवायुविज्ञ धनश्री जयराम भन्छिन्।“यो विधि खडेरीको ठूलो समस्या भएको अफ्रिकाको सब(सहारा वा उत्तर पूर्वी क्षेत्रमा प्रयोग गरिएको छ। अस्ट्रेलियामा पनि यो विधि अपनाइएको छ।”तर जयरामको विचारमा अन्यत्र बेइजिङले योजना बनाएकोभन्दा सानो स्तरमा यो विधि अवलम्बन गरिएको छ।

चीनमा क्लाउड सीडिङ गर्न तोप प्रयोग गरेर बादलमा रासायनिक पदार्थ प्रहार गरिन्छ

 

क्लाउड सीडिङ विधिको इतिहास सन् १९४० को दशकमा अमेरिकाबाट सुरु भए पनि यसको परिणामलाई लिएर अझै पनि आशङ्काहरू गर्ने गरिएको छ।

“यसको प्रभावकारिताबारे एकदमै न्यून सङ्ख्यामा वैज्ञानिक शोधपत्रहरू लेखिएका छन्,” बेइजिङ नर्मल यूनिभर्सिटीका जोन सी मोर भन्छन्।

“क्लाउड सीडिङ विधि कुनै पनि किसिमले वैज्ञानिक रूपमा पुष्टि नगरी अघि बढाइएको थियो।”

बेइजिङले ठूला कार्यक्रमजस्तै संसद्को वार्षिक सत्र आयोजना गर्दा प्रदूषण नियन्त्रण गर्न उद्योगहरू पनि बन्द गरिन्छ। मोरका अनुसार खेतीमा क्षति नपुगोस् भनेर चीनमा ५०,००० वटा सहरले यो विधि नियमित रूपमा प्रयोग गर्दै आएका छन्।उनले भने, “खासगरी असिनाले बालीमा क्षति नपुर्‍याओस् भनेर त्यसले खतरनाक स्वरूप ग्रहण गर्नुअघि नै वर्षालाई बादलबाट अलग गर्न यो विधि अपनाइन्छ।”

तर वैज्ञानिकहरू यो विधि चीनमा वर्षको एक वा दुई महिना मात्रै प्रभावकारी हुने बताउँछन्।

सन् २०२० को फेब्रुअरीमा न्यू साईन्टिस्ट म्यागजीनले पर्वतीय क्षेत्रको बादलबारे एउटा अमेरिकी अनुसन्धानबारे लेख प्रकाशित गरेको थियो।

त्यसमा क्लाउड सीडिङ विधिले वर्षा बढाउने तर त्यो वृद्धि १० प्रतिशतभन्दा कम हुने उल्लेख छ।

पानीको स्वामित्व कसको ?

चीनको राज्य परिषद्ले डिसेम्बरमा मौसममा कृत्रिम परिवर्तन ल्याउने घोषणा सार्वजनिक गरेको थियो। त्यस बेला निकालिएको विज्ञप्तिमा उक्त प्रयासले विपद् व्यवस्थापन, कृषि उत्पादन, वन तथा घाँसे मैदानमा हुने आगलागी र अस्वाभाविक उच्च तापक्रम वा खडेरीको व्यवस्थापनजस्ता समस्या समाधान गर्न सहयोग पुग्ने भनिएको थियो।

त्यसबाहेक अरू कुरा विस्तृत रूपमा उल्लेख गरिएको थिएन। बेइजिङमा रहेकी एक बीबीसी संवाददाताका अनुसार दस्तावेजको नाम ‘विकाससम्बन्धी एक अवधारणा’ राखिएको थियो जसको साधारण अर्थ सरकारले सामान्य रूपरेखा तय गर्छ र विभिन्न मन्त्रालय र उल्लेख्य स्रोत प्राप्त गर्ने स्थानीय सरकारले ठोस कदमहरू चाल्छन् भन्ने बुझिन्छ।उदाहरणका लागि उत्तरमा अवस्थित गाङ्सु प्रान्तले तत्कालै ठूला ड्रोनहरूको प्रयोगमा केन्द्रित भएर  महत्वाकाङ्क्षी लक्ष्य” निर्धारण गरेको थियो।

विज्ञप्ति आएको एक महिनाभन्दा कम अवधिमा चीनले गान्लिन-१ ड्रोनको पहिलो उडान गर्दै मौसममा कृत्रिम परिवर्तन ल्याउने आफ्नो कार्यक्रम अघि बढाएको खबर समाचारसंस्था सिन्ह्वाले प्रकाशित गरेको छ। यो विधिबारे व्यक्त गरिएको शङ्काले चीनलाई ठूलो लगानी गर्नबाट रोक्न सकेको देखिँदैन।

अनि चीनसँग रणनैतिक विवाद रहेका छिमेकी देशहरूलाई यसले चिन्तित बनाएको छ।“यो प्रविधिले वर्षा याममा पर्ने पानीलाई कस्तो प्रभाव पार्छ भन्ने एउटा मुख्य चिन्ता हो। तर यसबारेमा त्यति धेरै अध्ययन भइसकेको छैन,” धनश्री जयराम भन्छिन्।

उनका अनुसार चीन र भारतबीच राम्रो सम्बन्ध भएको भए यस्तो खालको गतिविधिबारे भारतमा खासै चासो रहँदैन थियो। तर सीमा क्षेत्रमा दुवै देशका सैनिकहरूबीच बढेको तनावसँगै भारतमा चीनविरोधी धारणा बढेको छ। न्याश्नल ताइवान यूनिभर्सिटीले सन् २०१७ मा प्रकाशित एउटा प्रतिवेदनमा मौसमको कृत्रिम परिवर्तनमा समन्वय नहुँदा त्यसले छिमेकी देशबीच आकाशे झरीलाई चोरी गरिएको आरोप निम्त्याउन सक्ने उल्लेख गरेको थियो।

मोरका अनुसार यस्ता खालका आरोपलाई प्रमाणित गर्ने वैज्ञानिक आधार छैनन् तर एशियाको मनसुन बढी नै संवेदनशील छ। “मनसुनलाई प्रभाव पार्ने एउटा मुख्य चिज तिब्बती पठार र हिन्द महासागरको तापक्रमको अन्तर हो,” उनले भने। “त्यही भएर कतिपयले योजना गरे जस्तै तपाईँले तिब्बतको पठारमा महत्त्वपूर्ण परिवर्तन गर्नुभयो भने मलाई लाग्छ त्यसको ठूलो प्रभाव पर्नेछ।”

क्लाउड सीडिङभन्दा परसम्म चीन पुग्छ भन्ने चिन्ता पनि यो क्षेत्रमा रहेको जयराम बताउँछिन्। उनका अनुसार चीनले अरू देशलाई नसोधी अझ महत्वकाङ्क्षी जिओ–इन्जिनीयरिङ विधि अवलम्बन गर्न सक्छ। उनले भनिन्, “प्रविधिमा नै जोखिम छ जस्तो मलाई लाग्दैन। तर प्रत्येक देशको आफ्नो भूगोलमा सार्वभौम अधिकार हुन्छ। उदाहरणका लागि यस्तो प्रविधिले केही नराम्रो भयो भने के हुन्छ? कसले क्षतिपूर्ति तिर्छ ?

सम्भावित तनावलाई ध्यान दिँदै यस्ता अभ्यासलाई नियन्त्रण गर्न विश्वव्यापी मापदण्ड बनाइनुपर्ने जयरामको विचारसँग चीनमा जिओ–इन्जिनियरिङ कार्यक्रमको नेतृत्व गरिरहेका मोर पनि सहमत छन्।