Aafno Khabar

नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्यो, मृत्युदर पनि कम

  • रासस
  • २०७७ मंसिर २७ गते ०९:१५ प्रकाशित

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमित निको हुने दर बढेको छ । विश्वको तुलनामा नेपालमा निको हुने दर बढी देखिएको हो। विश्वमा कोरोना निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ ।

नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का सङ्क्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताउनुभयो । “अहिले उपचार सेवा पनि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “त्यसैले सङ्क्रमितको निको हुने दर पनि बढेको हो ।” गत असोज २८ गते ६८.८ प्रतिशत सङ्क्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०.६, कात्तिक १६ गते ७७.६ र कात्तिक २६ गते ८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए ।

यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र २४ गते ९४.३ प्रतिशत सङ्क्रमित निको भएका छन् । बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४.२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताउनुभयो । उहाँले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गर्नुभयोे ।

मृत्युदर कम

यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म १ हजार ६६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ ।